वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगहरू पाँच दिनदेखि विद्युत् अभावमा परेका छन्। परवानीपुर सबस्टेशनमा आगलागी भएपछि वितरण पूर्वाधारमा क्षति पुगेको र आपूर्ति सुचारु हुन अझै १५ दिन लाग्ने नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले जनाएको छ।
दशैं–तिहारजस्ता चाडपर्व नजिकिँदा विद्युत् आपूर्ति नहुँदा उद्योगहरू समस्यामा परेका छन्। दैनिक उपभोग्य वस्तु, खाद्यान्नदेखि निर्माण सामग्री उत्पादन गर्ने उद्योग प्रभावित भएको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले बताए।
हाल वीरगञ्ज, सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, नितनपुर, चोर्नी र भलुही फिडरमार्फत आपूर्ति हुने अधिकांश औद्योगिक ग्राहक प्रभावित भएका छन्। परवानीपुर सबस्टेशनमा आगलागीपछि वीरगञ्जबाट विद्युत् पठाइए पनि क्षमताले धान्न नसकेको प्राधिकरणका प्रमुख दुबेले जानकारी दिए।