वीरगञ्ज । भदौ २३ र २४ गतेको जेन-जी विद्रोहका क्रममा भएको आगजनी र तोडफोडले बिमा कम्पनीहरूमा ठूलो आर्थिक दबाब परेको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार २०८२ असोज ५ गतेसम्म १४ निर्जीवन र ४ लघु निर्जीवन बिमा कम्पनीमा कुल २ हजार ४ सय ७८ दाबी दर्ता भएका छन् । दाबीको कुल मूल्य २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ नाघेको छ ।
सबैभन्दा बढी ७३ दाबीका आधारमा दि ओरिएन्टल इन्स्योरेन्सले ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ । सिद्धार्थमा २ सय ७९ दाबीका आधारमा ५ अर्ब ८ करोड २८ लाख रुपैयाँको दायित्व छ ।
शिखर इन्स्योरेन्समा ३ सय ७४ दाबी दर्ता भएका छन् । शिखरको भुक्तानी रकम २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यसैगरी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ सय ७० दाबीका आधारमा २ अर्ब ७३ करोड ८४ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २५७ दाबीका आधारमा १ अर्ब ५४ करोड ५६ लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्समा १९६ दाबीका आधारमा १ अर्ब १५ करोड ६२ लाख र नेको इन्स्योरेन्समा २११ दाबीका आधारमा १ अर्ब ११ करोड ८३ लाख रुपैयाँको दाबी दर्ता भएको छ ।
अन्य कम्पनीहरूमा पनि उल्लेख्य दाबी परेका छन् । सानिमा जीआईसी इन्स्योरेन्समा ८१ करोड ७ लाख, राष्ट्रिय बिमा कम्पनीमा ४० करोड ९९ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा ५१ करोड ३४ लाख, नेपाल इन्स्योरेन्समा ४७ करोड ९ लाख, एनएलजी इन्स्योरेन्समा ४५ करोड ७२ लाख, प्रभु इन्स्योरेन्समा २० करोड ३६ लाख र नेसनल इन्स्योरेन्समा ६ करोड ८४ लाख रुपैयाँको दाबी दर्ता भएको छ ।